रामधुनी– औषधि व्यवस्था विभाग विराटनगरका एक अधिकृत सरोज सुवेदी बिहीबार घुससहित पक्राउ परेका हुन् ।
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयको विशेष टोलीले अधिकृत सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले बताएका छन् ।
मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत थिए । उनलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा रहेको समृद्वि फर्मा सञ्चालन गरेर बसेका एक व्यक्तिसँग उनले दुई लाख रुपैयाँ घुस लिएको बताइएको छ । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाएको छ ।