चितवन । जलपंक्षी गणनाका क्रममा चितवनमा ५३ प्रजातिका चराहरु भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले पौष २६ देखि माघ १ गतेसम्म चितवनका सिमसार, नदी, तालमा जलपंक्षीको गणना गरेको हो ।
यो वर्ष ५ प्रजातिका चराहरु नदेखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए । उनका अनुसार वन सुउसुडीया, कलहाँस, हलीमुख, हिग्लिन, गंगा चिल र प्रसान्त सर्षपी प्रजातीका चरा यस पटकको गणनामा कतै पनि देखा परेनन् ।
त्यस्तै यसअघि नदेखिएको एक प्रजाति स्वेत माथा कलहाँस भने यस पटक देखिएको चौधरीले जानकारी जानकारी दिए ।
उक्त प्रजातिको चरा माडीको रिउ खोलामा भेटिएको हो । यसपटकको गणनामा सवैभन्दा धेरै जलकौवा र चखेवा देखिएका छन् ।
लगभग १३ सयको हाराहारीमा जलकौवा र एक हजारको हारहारीमा चखेवा देखिएको जनाइएको छ । सबै भन्दा कम अर्थात् एउटामात्रै देखिएको प्रजाति भने स्वेतमाथा कलहाँस रहेको चौधरीको भनाई छ ।
गणनामा सोसाइटीका स्वयम्सेवक, समितिका पदाधिकारी, पंक्षीविदहरुको सहयोग रहेको थियो । दुरविन, टेलिस्कोप, क्यामेरा,जीपीएस, लगायत विभिन्न पुस्तकहरुको सहयोगमा चरा गणना सम्पन्न भएको हो । नेपालमा २०५३ सालदेखि चरा गणना सुरु गरिएको थियो ।