सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु, एक जना घाइते

इटहरी । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधिन हाइड्रोपावरका लागि सामान ढुवानी गर्न प्रयोग गरिँदै आएको एउटा टिपर आइतबार राति दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । टिपर दुर्घटनामा परि मृत्यु हुनेहरुमा चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका– ४ का ३३ वर्षीय राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेको प्रदेश १ ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर भने गम्भीर घाइते भएका छन् । घाइते उनलाइ उपचारका लागि फाप्लु अस्पताल लगिएको उनले जानकारीे दिए । घाइते भएका मगरलाई सडकबाट करिब एक सय मिटर तले टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो ।

चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ । ८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा राति ११ बजेतिर दुर्घटनामा परेको थियो ।

भीरबाट खसेर भएको दुर्घटनापछि टिपरको अगाडिको भाग सडकबाट करिब एक सय मिटर तल झरेको अवस्थामा भेटिएको छ । दुर्घटनामा परेर टुटेको पछाडिको भाग भने सडकबाट करिब तीन सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिए पनि दुर्घटनाको कारण खुल्न नसकिरहेको प्रहरीले जनाएको छ । अप्ठेरो र कच्ची सडकमा ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । जम्मा नौ फिटको साँघुरो सडकमा यातायातका साधन दोहोरो रुपमा चल्न सक्ने अवस्था नरहेको बताइएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.