बक्लौरी । गत मंसिर १५ गते सुनसरीको रामधुनी– ६ बक्लौरीमा १५ शैयाको अस्पताल शिलान्यास भयो । बकलौरी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै नगर अस्पताल बनाउँने नगरपालिकाको निर्णयसँगै अस्पताल शिलान्यास भएको हो ।
सरकारले मंसिर १५ गते देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री भिम आचार्य, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभा सदस्य जयकुमार राई, नगरप्रमुख जयप्रकाश चौधरी लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
अस्पताल बकलौरीमा नभई ढेडीगाउँमा बनाउनुपर्ने माग राख्दै आएको ‘ढेडीगाउँ नगर अस्पताल बचाउ संघर्ष समिति’ ले कार्यक्रमस्थल बाहिर बिरोधस्वरुप कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो । संघर्ष समितिलाई जनता समाजवादी पार्टी (जसपा) कोसमेत समर्थन रहेको थियो ।
बिरोधमा जसपाका रामधुनी अध्यक्ष रामबहादुर खड्कासमेत सहभागी बनेका थिए । कडा सुरक्षाकाबीच अस्पताल शिलान्यास भएको थियो । विरोध प्रदर्शन गर्नेलाई स्थानीय युवाहरुले ‘बिकास बिरोधी मूर्दावाद’ भन्दै झण्डा खोसेर जलाइदिएका थिए ।
अस्पताल शिलान्यास भएको करिब ४८ दिन पछि जनता समाजवादी पार्टी (जसपा) रामधुनीका अध्यक्ष राम बहादुर खड्का शैक्षिक सामग्री लिएर अस्पताल शिलान्यास भएको असपताल नजिकै रहेको मुशहर बस्ती पुगेका छन् ।
केहि दिन अघि रामधुनीको एक अनलाईन सञ्चार माध्यममा ‘विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका’ शिर्षकको समाचार प्रकाशन गरेपछि खड्का आइतबार मुसहर बस्ती पुगेका हुन् ।
कम्युनिष्ट नाम राखेको सरकार देशभर भएपनि सत्ताको भागवण्डामा लिप्त भएर बसेको र राज्य गैरजिम्मेवार बनेपछि आफु मुसहर बस्तीका बालबालिकालाई विद्यालय जानेसम्मको वातावरण तयार गर्न त्यहाँ पुगेको खड्काले बताए ।
माथिल्ला सरकारजस्तै रामधुनी नगरपालिकासमेत दलाल पुँजीपतिहरुसँग मिलेर भ्रष्टाचारको भागवण्डा मिलाउँन तल्लिन भएकाले मुसहर, झाँगर लगायत पछाडि परेको समुदायबारे सोच्ने फुर्सद अहिलेका जनप्रतिनिधिहरुलाई नभएको उनले बताए ।

















