रामधुनी । नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको छ । देशभर बन्द रहेका सिनेमा भवनहरु खुलाउने निर्णय आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।
सरकारले सिनेमा हल खुलाउने निर्णय पौषको २६ गते गरेपनि त्यसको १५ दिन अगाडि नै फिल्म हल संचालकहरुले हल खुलाउने निर्णय गरिसकेका थिए ।
उनीहरुले एकतर्फी रुपमा हल खुलाएपनि दर्शकलाई हलसम्म फर्काउन भने सकेका छैनन् । मन्त्रीपरिषद्ले चैत्र ११ गतेदेखि बन्द रहेका हल खुलाउने निर्णय गरेसँगै औपचारिक रुपमै हल खुलेका छन् । तर, कोभिडको जोखिम बढेको खण्डमा हल बन्द हुन सक्नेछन् । सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउने निर्णय गरेको हो ।
यसलाई फिल्मकर्मीहरुले स्वागत गरेका छन् । उनीहरुले अब फिल्म क्षेत्रलाई सहज रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । प्रदर्शकहरुले माघ १ गतेबाट नयाँ नेपाली फिल्म एउटा यस्तो प्रेम कहानी चलाउने तयारी पनि गरेका छन् ।