मोरङ । विप्लव समुहले हत्या गरेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अन्त्येष्टी गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी बक्राहा घाटमा अन्त्येष्टी गरिएको हो । छोरा छत्रबहादुरले दागबत्ति दिए ।
श्रेष्ठको पार्थीव शरीरमा नेकपा केन्द्रीय सदस्य गुरु वराल, संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साँवा, उपेन्द्र घिमिरे, गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य लगायतले श्रद्धाञ्जली अर्पण गरे । श्रद्ध्राञ्जली दिदै नेताहरुले शिक्षक श्रेष्ठलाई सहिद घोषणा गर्न माग गरेका छन् ।
गत मंगलबार बिहान प्रधानाध्यापक श्रेष्ठको अपरहरण पछि हत्या भएको थियो । विप्लव समुहले हत्याको जिम्मेवारी लिइसकेको छ ।
शुरक्षाकर्मीको गस्ति बढ्यो
यसैबिच मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको प्रकरणपछि जंगलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती बढाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र घटनास्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन जारी राखिएको हो ।
घटनाको जिम्मेवारी विप्लव समूहले लिइसकेको अवस्थामा सोही समूहतर्फ केन्द्रित भएर अनुसन्धान जारी राखिएको मोरङ प्रहरीले बताएको छ ।