विराटनगर । युथ ह्याण्डस् फर भ्वाइसलेस संस्थाले विराटनगर महानगर क्षेत्रभित्र रहेका सडक तथा घरपालुवा कुकुरहरूलाई स्केबिजविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
‘स्केबिज फ्री विराटनगर’ अभियानअन्तर्गत संस्थाका युवाहरूले कुकुरलाई स्केबिजविरुद्धको खोप लगाउन सुरु गरेका हुन् । गत मङ्गलबारदेखि सुरु भएको अभियानको चौथो दिन शुक्रबार युवाहरूले सडकमा रहेका एक दर्जन बढी छाडा कुकुरहरूलाई खोप लागाई सकेका छन् ।
‘सार्कोप्टेस स्काबी’ नामक किटाणुको संक्रमणबाट यो रोग जनावर र मानिसमा सर्ने गर्छ । स्केबिज नियन्त्रणका लागि अन्तर्राष्ट्रिय गठबन्धन (आईएसीएस) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्याङ्कलाई आधार मान्ने हो भने यसले जुनसुकै समयमा पनि विश्वका एक अर्ब ३० करोड मानिसलाई सङ्क्रमित बनाउन सक्छ ।
कुकुरबाट मानिसमा सजिलै यो रोग सर्न सक्ने भएकाले युवाहरूले स्केबिजविरुद्धको खोप लगाउने अभियानको थालनी गरेका हुन् ।
कुकुरमा यो रोगको सङ्क्रमण भएपछि शरीरको विभिन्न भाग चिलाउने, स–साना राता बिबिरा जस्तो घाउ देखिने, फोका वा गाँठो पर्ने तथा भुत्ला झर्नेलगायतका लक्षणहरू देखा पर्न थाल्छ ।छालामा स्केबिजको किटाणु सरेको तीनदेखि चार दिनभित्र फुल पार्ने र सो फुलबाट एकदेखि दुई साताभित्र सङ्क्रमण फैलाउने किटाणु वयस्क हुन्छ । त्यसको ६ सातापछि छालामा चिलाउने र दागहरूमा देखिन सुरु हुन्छ ।
सो अभियानमा रमन अधिकारी, निरञ्जन सिंह, स्वीकृति कोइराला, प्रशान्त रोकाया र वसन्त रोयलगायतको सहभागीता रहेको छ ।