काठमाडौं । ‘जनताको नारा राजा नै प्यारा’ भन्दै राजधानीमा शनिबार प्रदर्शन गरिएको छ ।
मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै मातृभुमि संरक्षण नेपालको आयोजनामा राजधानीको हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले ‘राष्ट्रवादको नाराले, सुख पाउँछ साराले’ नारासहित राजसंस्था र हिन्दु राज्यका पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरू राष्ट्रिय झण्डा बोकेर सहभागी भएका थिए । उनीहरूले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि प्रदर्शन गरेको बताएका छन् ।
देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेको बेला देशका विभिन्न ठाउँमा यतिवेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन हुन थालेका छन् । यही क्रममा शनिबार राजधानीमा भएको प्रदर्शनलाई पनि लिन सकिन्छ । गत बिहीबार सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुर्नस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै प्रदर्शन गरिएको थियो । सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजले आयोजना गरेको बृहत् मोटरसाइकल ¥यालीमा अधिकांश कम्यूनिष्ट र कांग्रेसका कार्यकर्ताहरू सहभागी थिए ।
अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको विभिन्न ठाउँमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरूले बताएका छन् ।
यस्तै केही समय पहिला विराटनगरमा र बुटवलमा पनि बृहत ¥यालीसहित ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको थियो । राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाले पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था पुर्नस्थापनाको माग राख्दै ¥याली तथा प्रदर्शन गरिरहेका छन् ।
राजनीतिक दलहरूले जनचाहनाअनुरूप काम नगर्दा देशका विभिन्न ठाउँमा यस्ता प्रदर्शन हुन थालेका हुन् । राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै हजारौं युवाहरू सडकमा उत्रिन थालेका छन् । गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसविरुद्ध प्रदर्शन गरिएको उनीहरूले बताउँदै आएका छन् । आजको हिमालय टाइम्स दैनिकमा खबर छ ।