काठमाडौं । नेपाल संवत् ११४१ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए । साख्वाद्वारा प्रवद्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।
यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।