काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद चर्कंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वी नेपालकोभ्रमण स्थगित भएको छ ।
ओलीको आगामी ५ गते शुक्रबारका लागि ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्साको भ्रमण कार्यक्रम तय भएको थियो ।
भ्रमणमा ओलीले नेपाल(चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीले भ्रमण स्थगन गरेर पार्टी विवाद व्यवस्थापनमा समय दिन चाहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले स्थानीयलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएपछि स्थानीयले तयारी सुरु गरेका थिए । यसका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए ।