काठमाडाैं । सुनचाँदीको अवैध ओसारपसार गर्ने एक भारतीय सहित दुईजना विरुद्ध उच्च अदालत तुलसीपुरमा राजस्व छलीको मुद्दा दायर भएको छ ।
नेपाली नागरिकता लिएर अवैध सुनचाँदी ओसारपसार गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनी र नेपाली नागरिक अमित परियारविरुद्ध दुई अर्ब ३९ करोड रुपैयाँ बिगो र कैद मागदाबी गर्दै सोनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को सोनी गोल्ड एण्ड सिल्भर ज्वेलर्सका सञ्चालक सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएर सुनिल सोनीले अवैध रुपमा सुनचाँदीको ओसार पसार गरेको विभागले जनाएको छ । सुनिललाई सहयोग गर्ने नेपाली नागरिक रुपन्देहीकै अमितलाई विभागले मतियारको रुपमा मुद्दा दायर गरेको छ ।
गत असार ३० उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्राली र मुख्य कारोबारी सुनिल सोनी र अमित परियारले भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख र आयकरतर्फ १६ करोड ४१ लाख रुपैयाँ राजस्व चुहावट गरेकोले दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।