काठमाडौं । यातायात ब्यवसायीहरुले विश्वकर्मा पूजाको दिन पारेर आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन् ।
उनीहरुले सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने जनाएका छन् । यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले वताए । सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको उनले बताए ।
अव सिटामोल किनेर खाने समेत अवस्था नरहेकाले आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराएको उनको भनाई छ । चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।