इटहरी । थारु तथा मधेशी महिलाको पवित्र ‘जितिया पर्व’ सुरु भएको छ । थारु तथा मधेशी महिलाले निष्ठा पूर्वक जीतिया पर्व मनाउने गरेका छन । नहाय खाय (नुहाएर खानु) गर्दै हिजोदेखि धार्मिक विधिअनुसार शुरु भएको हो ।
व्रत बस्नुअघि महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृको पूजा गर्छन । त्यसैगरी आज बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी भोली बिहान व्रत सम्पन्न गर्ने छन् ।
पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ ।
देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । विधिअनुसार आज एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्छन । त्यसपछि कठिन उपवासको क्रम शुरु हुन्छ ।
आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन मानिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको वताइएको छ ।