सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको चन्द्रकला उरावको यो परिवार । यो परिवारको वास्तविक कथा निक्कै मार्मिक र सामाजिक परक घटनामा आधारित छ । बाबुले लगातार चार छोरी जन्मिए भनेर अर्को विवाह गरेर लापत्ता भए । छोरी जन्माएकै कारणले घरपरिवारबाट वञ्चित भएकी उरावको दैनिकी भिन्न बन्दै गयो ।
त्यसरी परिवारबाटै वञ्चित भएकी उनको दैनिकी एक्लैमा फरक ढङ्गले दुःखमय बित्दै गयो । छोरीहरू बढ्दै गए । आर्थिक अवस्था नबढ्दै गर्दा परिवारमा चुनौती पनि थपिँदै गयो । केही सहज हुने बाटो रोजेर उनले अर्को विवाह त गरिन् तर पनि फेरी छोरी कै जन्म भएपछि अर्का श्रीमानले पनि छोडिदिए ।
पारिवारिक रूपमा यसरी विकृतिको सिकार बन्दै गएकी र आर्थिक अवस्था कमजोर भएर बालबच्चाकै हेरविचारमा समस्या झेल्दै आएकी उनको समस्यामा विभिन्न सामाजिक सङ्घ संस्थाले सहयोग गर्दै आएका छन् । जसरी एक छाक खुवाएर जसोतसो जीविका चलाइरहेकी उनको परिवारमा सामाजिक संस्थाको पहलमा पछिल्लो समय खुसीको सञ्चार छाउन थालेको छ ।
पछिल्लो समय जापानमा रहेका मनकारी नेपालीले हाम्रो सुनिश्चित भविष्य नेपाललाई उपलब्ध गराएको २० हजार रकम लिएर हामी सो परिवारमा पुग्यौँ । संस्थाकी अध्यक्ष सञ्जु सुवेदीलाई प्राप्त भएको रकम लिएर विभिन्न सामाजिक सङ्घ संस्थाको समन्वयमा १५ हजार ७९५ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र नगद ४ हजार २०५ बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोगको अपिल !
सामाजिक सङ्घ संस्थाकै पहलमा यति सम्म त बनेको छ उनको घर । थप सहयोग भए घर निर्माणको कार्य हुनेमा आसावादी छिन् उराव । चन्द्रकला कसैको पहल सहयोग भए व्यापार गरेर अब आफै जीविकोपार्जन गर्न सक्ने बताउँछिन् । यता हाम्रो सुनिश्चित भविष्य नेपालकी अध्यक्ष सञ्जु सुवेदीले यी बालबालिकाको हेरविचार, शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा सहयोगको लागि अभियान चलाएको बताएकी छिन् । अध्यक्ष सुवेदीले यो अभियानमार्फत सहयोगी मलाई सहयोग गरेर यो परिवारको उज्ज्वल भविष्य बनाइदिनका लागि अभियानमा जुट्न आव्हान गरिन् ।
नागरिकता छैन
हुन त उनको नेपाली नागरिकता छैन । विवाह दर्ता तथा छोरीहरूको जन्म दर्ता गराए पनि नागरिकता नहुँदा समस्या हुँदै आएको छ । सँगै पुगेका बेलबारी नगरपालिका २ का वडा अध्यक्ष घनश्याम गौतमले यस्ता परिवारलाई नगरपालिका तथा सरकारले पनि आवश्यक कार्यक्रम तथा नीतिहरू ल्याएको बताउँछन् । उनको नागरिकता पनि आवश्यक कानुनी प्रक्रिया अन्तरगत निर्माण हुने पनि उनको भनाई छ ।
भिडियो
















