रामधुनी । नेपाली राजनीति र साहित्य दुवैतिर उत्तिकै सफल जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्ती विविध कार्यक्रम गरेर मनाइएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा वीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा गएका थिए । वीपीकै नेतृत्वमा २००३ सालमा जहानियाँ राणा शासनको अन्त गर्ने उदेश्यले नेपाली कांग्रेसको स्थापना भएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि वीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री वने । नेपाली साहित्यका क्षेत्रमा पनि बीपीको महत्वपूर्ण योगदान छ । क्यान्सर रोगबाट पीडित कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।
उनको जन्मजयन्तीको अबसर पारेर हिजो मुलुकभर नै विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् ।