काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र बजारमा उपलब्ध हुन सक्ने बताएको छ ।
यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा आगामी वर्षको मध्यसम्म लाग्नसक्ने विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले बताएका हुन् ।
शुक्रबार पत्रकार सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले भनेका थिए, ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’
त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए । उनले सो खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए ।
त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्म वा आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।