ललितपुर । कोरोनाको जोखिमका कारण अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा हुने भएको छ ।
छोट्याउने सहमति भएअनुसार आइतबार रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ। दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ ।
यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् । विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।
सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान लगिनेछ । यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।