इटहरी । फागुन अन्तिमसम्म त त्यति हल्ला थिएन, तर एक साता नबित्दै सोसल मिडिया, पत्रपत्रिकामा समाचार आउन थाले, सबैतिर कोरोनाको हल्ला फैलिएको थियो । विदेशतिर त कयौँ मानिसको मृत्यु पनि भइसक्यो भन्ने खबरले हाम्रो देशमा पनि एक प्रकारको डर पैदा भएको थियो । त्यतिखेरै हाम्रो देश भने यो महामारीको सिकार भने भएको थिएन ।
म त्यसमा ढुक्क थिएँ । लगभग लकडाउन भएको पनि महिनौँ बित्यो त्यतिका दिन सम्म त हाम्रो देश सुरक्षित नै थियो । समय बित्तै गयो विदेशी नाकाहरू हुँदै नेपाल भित्रिने मानिसको चाप बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिन थाल्यो । एका दुई गर्दै सय, हजार दश हजार हुँदै हाल सम्मको विवरणमा ३२ हजार पुगिसकेको छ ।
जसमध्ये निको भएर घर फर्कनेको सङ्ख्या पनि बढिरहेको छ । जस कारण हदसम्म आम सर्वसाधारणले राहत महसुस गरेका छन् । अर्कोतर्फ मृत्यु हुनेको सङ्ख्या पनि लगभग सयको हाराहारी मा पुगेको छ । जसले गर्दा झन् मानिसको आत्मावाल कम हुँदै गइरहेको छ । मनभरि चिन्तै चिन्ता, डर, त्रास लिएर बाचिरहेका छन् नागरिक । त्यसमा म आफै र मेरो परिवार पनि पर्छ ।
दिनानुदिन यसको असर सर्वसाधारण मानिसमा परिरहेको छ । बर्सैभरि खालि हुने सरकारी अस्पतालका वार्डहरूमा बिरामीको चाप बढ्दो छ । जीवनमै कहिल्यै नगरेको काम अनि हामीले लगाएर हिँड्दा पनि कति ढर्रा पार्न सकेका भनेर भन्ने ती बुढा बा, आमाले पनि मास्क लाएका हिँड्न थाल्नु भएको छ । यसले आम मानिसमा केही मात्रामा परिवर्तन पनि ल्याइदिएको छ । अर्कोतर्फ सधैँभरि पैसा पैसा भनेर दौडिनेहरूमा पैसा मात्र सब थोक हैन रहेछ है भन्ने कुराको भान भएको छ ।
मेरो पनि कयौँ दिनदेखि नफेरिएको कलमको मसी आज आएर बल्ल फेर्ने मौका पाएकी छु । वर्षौँदेखि घरको निसासिएको स्टोर रुमले पनि बल्ल खुल्ला भएर सास फेर्न पाएको छ । जिजु बाजेका पालामा तमसुकले लेखिएका पुराना ऐतिहासिक बस्तुहरूमा टाँसिएको धुलोहरू पनि पुछिन थालेको छ । वर्षौँदेखि बाँझो करेसाबारीको माटो आजभोलि निकै नरम भएको छ । घरको रेलिङभरि भएका र सुकेर अख्रक्क परेका गमलाले बल्ल प्यास मेट्न पाएका छन् ।
सधैँ गहभरि आशु बोकेर छोराछोरीको बाटो हेर्ने ती बुढी आमाको मुहार निकै हँसिलो भएको छ । तर पनि हिजोआज ‘व्यस्त सबै व्यस्त’ यस्ता कुराको खोजीनिती गर्न कसलाई फुर्सद छ र यहाँ ! यो लकडाउनले धेरै मानिसको अहमता, घमन्ड, लालचको अन्त्य भएको मैले महसुस गरेकी छु ।
साँच्चै भन्ने हो भने कोहीलाई बिहान उठेर खान हतार, त कोहीलाई अफिस जान हतार, यहाँ सम्म कि, ओछ्यानमै चिया पिउने अल्छेहरू कोरोनाले गर्दा फुर्तिला भएका छन् । एउटै परिवारमा भए पनि बाउ छोराको भेट साता वा पन्ध्र दिनमा एक पल्ट हुन्थ्यो तर आजभोलि त्यो दुरी मेटिएको छ । सबैसँग घुलमिल हुने अवसर पाएका छन् । स्कुल जाने केटाकेटीलाई टिफिन खर्च दिनको तीसदेखि पचास रुपैयाँ दिनुपर्ने, अनि बेलुका दिनभर लगाएको जुत्ता मोजा सहितै आएर त्यतिकै ओछ्यानमा पस्ने उनीहरू यति ठगाहार भएका थिए कि हामी आफैबाट ठगिरहेका छौँ भन्ने पत्तै पाइरहेका थिएनन् ।
तर, यो लकडाउनले ती सबैको जीवनमा नयाँ मोड सिर्जना भएको छ, विगत चार महिनामा मेरो जीवनमा पनि धेरै परिवर्तन आएको छ । अचानक पढाइ स्थगित भयो भनेर त्यति समस्या पनि थिएन किनभने परीक्षा निकै पर थियो । मेरो ‘मर्निङ’को कलेज थियो । त्यो बेला बिहानीपख निकै चिसो हुन्थ्यो त्यस्तो मौसममा चार बजे उठेर फ्रेस भएर कलेज जान सडकमा गएर बस कुर्दाकुर्दै गर्नुपर्ने हुन्थ्यो । कुनै बेला त त्यो पनि रोक्दै नरोकी जान्थ्यो बस । विद्यार्थी जीवन सधैँ खल्तीमा पैसा कहाँबाट आउँथ्यो र ? यस्ता दैनिकीमा कमसेकम केही दिन भए पनि छुटकारा पाइयो भनेर मन खुसी थियो तर, यस्तो लामो समय घरमा बस्नुपर्छ भनेर त मेरो सोचमै थिएन ।
यतिका दिनसम्म सरकारले गरेको लकडाउनले ज्याला मजदुरी गरेर छाक टार्ने निम्न वर्गका परिवारलाई केही समय त निकै गाह्रो पर्याे । तर, समय बित्दै गएपछि घर बसी बसी उनीहरूले आयआर्जनको काम गर्न थाले । बिहान बेलुकाको छाक टार्न थाले । सहर बजारमा बस्नेहरूले पनि समयको सदुपयोग भन्दै घरमै बसी विभिन्न नयाँ कामको थालनी गर्न जागरूक भए ।
हाम्रो घरमा पनि सबै मिलेर प्लास्टिकको बट्टामा केही तरकारीको बिउ उमार्ने जमर्को गर्याै । धनियाँ, पुदिना, साग जस्ता चिजहरूले केही समयपछि घरको छत हराभरा भएको छ । अहिले सायद धेरै लामो समयपछि होला सच्चै नै जिब्रोले स्वाद फेरेको छ । विद्यार्थी जीवन आफ्नै किताब पढ्न भ्याई नभ्याई हुने थियो तर, यो लकडाउनको समयमा बजारमा आएका नयाँ नयाँ पुस्तक पढेर एउटा फरक अनुभव लिने मौका मिलेको छ ।
त्यसमा म निकै खुसी छु । बिचमा केही संङ्संस्थाहरूसँग मिलेर केही ठाउँमा सचेतना कार्यक्रम पनि गरेका थियौ । जहाँ त्यो बेला कति मानिसहरूलाई भाइरस सम्बन्धी जानकारी नै थिएन । उनीहरूलाई सचेत गराई यसबाट बच्ने उपायहरू अपनाउन अनुरोध ग¥यौँ । यहाँ पनि एउटा छुट्टै अनुभव लिने अवसर पाएको छु ।
सँगसँगै विश्वमै यो बढ्दो महामारीका कारण धेरैले ज्यान गुमाउनु परेको छ । धेरै अनुभवहरूको साटासाट गर्दै गर्दा हामीले यो कुरा चैँ ख्याल गर्नै पर्छ कि, अहिलेको विकल्प भनेको सुरक्षित हुनु नै हो । त्यसैले हामीले आफैँ जति सक्दो सुरक्षित बनौँ, कोरोना भाइरसबाट आफू पनि बचौँ र अरूलाई बचाऔँ ।