एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आउन चाहेमा स्वागत गरिने बताएका छन् । पीएसजीका मुख्य प्रशिक्षक थोमस टुचेलले बिटी स्पोर्ट्ससँग कुरा गर्दै टुचेलले अर्जेन्टिनाका कप्तान मेस्सी क्लब आएमा स्वागत गरिने बताएका हुन् ।
टुचेलले धेरै खेलाडीले क्लब छाडेको बताउँदै उत्कृष्ट टिम बनाउन यस ट्रान्सफरमा राम्रा खेलाडी अनुबन्ध गरिने समेत बताए । ’उनी (मेस्सी) लाई धेरै स्वागत छ । हामीले यस सिजन धेरै खेलाडी गुमायौं र अब हामीले थियागो सिल्भा गुमाएका छौँ । राम्रो टोलि बनाउन हामीले अब ट्रान्सफर विन्डो प्रयोग गर्नु पर्छ,’ टुचेलले भनेका छन् भनेर खबरमा उल्लेख छ ।
बार्सिलोनाका कप्तान समेत मेस्सीले क्लब छाड्ने चर्चा चलिरहेको टुचेलको यस्तो भनाई आएको हो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लब छाड्ने हल्ला चलेको थियो ।
क्लब छाड्ने हल्लाबारे मेस्सीले भने केहि बताएको छैन । तर, ३३ वर्षीय फरवार्डले नयाँ प्रशिक्षक कोम्यानसँग क्लब छाड्नेबारे बताईसकेको स्पेनिस मिडियाहरुले दाबी गरेको छ ।