इटहरी l चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठ निर्वाचित भएका छन्। धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

विगत १६ वर्षदेखि इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठ पछिल्लो सात वर्षदेखि परिकला न्युज डटकम सञ्चालन गर्दै आएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा रश्मी र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्। सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिब तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ तथा विशाल काफ्ले रहेका छन्।

प्रदेश प्रतिनिधिमा एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा रश्मी चयन भएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले शाखाको आफ्नै कार्यालय स्थापना गर्ने, प्रेस मिट तथा तालिम सञ्चालनका लागि हल व्यवस्थापन गर्ने र ‘न्युज पोष्टर डिजाइन’ तालिम सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्। नयाँ कार्यसमितिको पहिलो बैठकले ती योजनालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको जनाएको छ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुशल नेतृत्वसहित जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। संघका निवर्तमान केन्द्रीय अध्यक्ष स्व. दिनेश सिटौलाको स्मृतिमा एक मिनेट मौनधारण समेत गरिएको थियो।
अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
नयाँ नेतृत्व चयनका लागि संघका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो। मण्डलमा संघकी कोशी प्रदेश अध्यक्ष सन्जु राई तथा नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य रोहित राई सदस्य रहेका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नवीन मेन्याङ्बो, दिलु सुब्बा, दिनेश कोइराला लगायत कला तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


















