लण्डन। बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाटमा समाजले नेपालको कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम गरेको छ।
अगष्ट ३ आइतबार बेलायतको लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा परिसरमा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन।
कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्म परम्परागत संगीतमा सहभागीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि लन्डन स्थित नेपाली दुताबासका उपनियोग प्रमुख विपिन दबाडीले आफ्नो मन्तव्यमा गुल्मेली हरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफुलाई प्रभावित पारेको बताए।
कार्यक्रमका बिशेष अतिथी माता राधिका दाशीले श्लोक र प्रवचन मार्फत कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुभयो।
कार्यक्रममा बिशेष अतिथी एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर गुल्मी रेसुंगाको कथा र श्लोक बाचन गर्दै सबैको मन जितेका थिए, ।समाजले बेलायतमा प्रस्तुत गर्दै आएको नेपाली संस्कृति र एकताको भावना सराहनीय रहेको बताए ।
समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरंजन र आपसी भेटघाटका हिसाबले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा बिशेष रुपमा हेर्ने गरिन्छ । सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ।


















