रामधुनी। उदयपुरको बेलका नगरपालिका ७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ ।
गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

















