इटहरी । आगामी मंसिर ५ गतेदेखि प्रदर्शनमाआउन लागेको चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक भएको छ।
भीम लामाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले पहिचानको मुद्दा, विद्रोह र राज्यसँगको संघर्षको कथालाई गहिरो रूपमा केलाएको छ। सार्वजनिक ट्रेलरमा आन्दोलनकारीले प्रदेशको नाम ‘किरात लिम्बुवान प्रदेश’ हुनुपर्ने भन्दै गरेको सशक्त आन्दोलन र त्यसको प्रतिउत्तरमा नाम ‘कोशी’ घोषणा भएपछि उत्पन्न भएको तनावपूर्ण स्थितिलाई देखाइएको छ।
नेपाली समाजमा महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक बहसको विषय बनेको यस आन्दोलनको कथालाई पर्दामा उतारिएको यो चलचित्रमा लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङ पहिचानवादी नेताको भूमिकामा देखिएका छन्। त्यस्तै, अभिनेत्री करिश्मा मानन्धर (पत्रकार) को सशक्त भूमिकामा रहेकी छिन् भने धीरेन शाक्यले प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका छन्। यसबाहेक, प्रेम सुब्बा, राजेन्द्र खड्गी, जेनी घिसिङ लगायत कोशी प्रदेशका दर्जनौं स्थानीय कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका निर्माताहरूमा भीम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन्। मदन कस्यप घिमिरेले छायांकन गरेका यो चलचित्रलाई रमेश डी. कौशिकले सम्पादन गरेका हुन्। यस चलचित्रमा सङ्गीत बलराम समल,भीम बस्नेत,दिप्सन लिम्बू, शेखर थापा,सागर तामाङको रहेको छ भने गीतमा शब्दहरु बुद्धवीर लामा, भीम लामा, इरान राई, भीम बस्नेत, सागर तामाङ, राज हाङ्ग लिम्बूले भरेका छन । गीतमा मणी कुमार लिम्बू, सानू राजा थेगिमले कोरियोग्राफि गरेका छन् भने सहायक कोरियोग्राफरको रुपमा बुद्धिमान तामाङ, प्रवीण किराती रहेका छन् ।


