इटहरी। कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र सुस्केरा को छायांकन सम्पन्न भइसकेको छ र अहिले पोस्ट–प्रोडक्सनको काम भइरहेको छ। ममता रायमाझीको प्रस्तुति रहेको यस चलचित्रको निर्माण डा. ओमकृष्ण प्रसाईं, मोहन गमाल र मनोज अधिकारीले गरेका हुन् भने लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका हुन्।सत्य घटनामा आधारित यस चलचित्रमा आत्मनिर्भर बन्न नसके पनि अरूको लागि बाँच्न चाहने सडक बालकको कथामार्फत समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको छ।
चलचित्रमा बालकलाकार शुभम अधिकारी, हार्दिक पौडेल र नायरा प्रसाईं मुख्य भूमिकामा देखिएका छन्। साथै शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, उषा किरण अधिकारीसहित अन्य बालकलाकार मनिषा श्रेष्ठ, सन्जित श्रेष्ठ, कल्पना भुजेल, उमेश मगर आदिको पनि अभिनय रहेको छ।
छायांकन कुमार मानन्धरले गरेका हुन्। शृङ्गार मदन न्यौपानेले, नृत्य निर्देशन सुरेश पाण्डेले गरेका हुन्। डिजिटल पार्टनर ओएस आर डिजिटल रहेको यस चलचित्रका गीतहरू डा. ओमकृष्ण प्रसाईं र शंकर अधिकारी घायलका हुन्। संगीत घायल कृष्णले भरेका छन् भने स्वर नित्याशिवा र कृष्ण भट्टराईले दिएका छन्।
चलचित्रलाई आर आर फिल्म्सले वितरण गर्नेछ। यसै मङ्सिरको छेको पारेर प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। मिडिया को–अर्डिनेटर पूर्वाञ्चलतर्फ ननोज दाहाल र उपत्यकातर्फ प्रमोद डिजी रहेका छन्।

















