लन्डन | नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित लन्डनमा हुने दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले बिहीबार लन्डनमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम भव्य बनाउन ९० प्रतिशतभन्दा बढी तयारी पूरा भएको जनाएका छन् ।
यसपटकको इन्फा अवार्डलाई विशेष बनाउन नेपालबाट तीन दर्जनभन्दा बढी चर्चित कलाकार लन्डन आउन लागेका छन् । ११ सेप्टेम्बरमा उनीहरू लन्डन आइपुग्ने र १३ सेप्टेम्बर साँझ ग्रीनफोर्ड टाउन हलमा अवार्ड कार्यक्रम हुने भएको हो। कलाकारमध्ये रमेश बुढाथोकी, दीपक–दीपाश्री, केदार घिमिरे, प्रदीप खड्का, विजय बराल, दिलिप रायमाझी, केकी अधिकारी, जितु नेपाल, मेलिना राई, मलिना जोशीलगायतका कलाकारको भिसा भइसकेको आयोजकले जनाएका छन् । तर सौगात मल्ल र वर्षा सिवाकोटी भने आउन नसक्ने भएका छन् ।
कार्यक्रममा ५५ वटा फिल्ममध्ये २७ विधामा अवार्ड वितरण गरिनेछ । यसपटक अभिनेत्री शर्मिला मल्ललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइनेछ, जसअन्तर्गत एक लाख एक हजार रुपैयाँसमेत प्रदान गरिनेछ ।
इन्फा अवार्डलाई यसपटक फरक ढंगले प्रस्तुत गर्ने आयोजकको दाबी छ । औपचारिक भाषणभन्दा बढी रमाइलो र मनोरञ्जनात्मक प्रस्तुति हुने र दर्शकलाई कलाकारहरूसँग नजिकबाट भेटघाट गर्न रेड कार्पेट शो र ‘मिट एण्ड ग्रीट’ सेसन समेत राखिएको छ । प्रवेश शुल्क २५, ३० र ५० पाउण्ड तथा भिआइपी टिकट १०० पाउण्ड तोकिएको छ ।
यसपटकको इभेन्टलाई १२ हजार पाउण्डको टाइटल स्पोन्सर गर्दै निर्माता तथा कलाकार विक्रम जोशी संलग्न भएका छन् । उनले आफ्नो ब्यानरमार्फत सोही अवसरमा नयाँ कार्यक्रम ‘इट इज माइ ट्यालेन्ट शो डट कम’ पनि घोषणा गर्ने जनाएका छन् ।
आयोजक टंक भट्टराईका अनुसार इन्फा अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने हो । अभिनेत्री गौरी मल्लको नेतृत्वमा तयारी भइरहेको विशेष नृत्यसमेत प्रस्तुत गरिनेछ ।
कार्यक्रमलाई एपी वान टेलिभिजनमार्फत नेपालमा प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ । आयोजकहरूले यसपटकको इन्फा अवार्डलाई नेपाली चलचित्र इतिहासमै विदेशी भूमिमा आयोजित सबैभन्दा भव्य र प्रभावकारी अवार्ड बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।


















