इटहरी । आगामी भाद्र २७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सस्पेन्स–क्राइम थ्रिलर चलचित्र ‘अभिमन्यु च्याप्टर १’ ले प्रचार–प्रसारलाई तीव्रता दिएको छ। सोमबार कोशी प्रदेशको इटहरीस्थित ईलाइट सिनेमामा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले मोफसल प्रचारको सुरुवात गरेको हो।
कार्यक्रममा अभिनेता कामेश्वर चौरसिया, किरण श्रेष्ठ र मिडिया कोअर्डिनेटर पवन भट्टराई सहभागी थिए। सो अवसरमा धरान, विराटनगर, दमक र विर्तामोडका पत्रकारहरूको समेत उपस्थिति थियो।
अभिनेता चौरसियाले दर्शकको माया र समर्थनले नै आफूलाई प्रमुख भूमिकासम्म पुर्याएको बताउँदै अझै ठूलो साथको अपेक्षा राखेका थिए। उनले चलचित्र मधेसको कथामा आधारित सस्पेन्स क्राइम थ्रिलर भएकाले दर्शकलाई बाध्ने दाबी गरे।
त्यस्तै, किरण श्रेष्ठले ट्रेलरमा देखाइएको सामग्री नै पर्याप्त रहेको र बाँकी सस्पेन्स हेर्न हलमा आउन आग्रह गरेका छन्। चलचित्र युनिटले प्रचारको क्रममा भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज–हेटौंडा, १९ गते चितवन हुँदै काठमाडौं पुग्ने जनाएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। पैसाको प्रलोभन, अपहरण र प्रेमको खेलमार्फत फिरौती माग्ने कथावस्तुमा तयार फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।
यो चलचित्र नेपालमा भाद्र २७ गते रिलिज हुनेछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने भएको छ।


















