लन्डन: बेलायतको लोकप्रिय कार्यक्रम ‘प्रतिभा नक्षत्र’को छैटौं संस्करणको कार्यक्रम हुने भएको छ । यै अगस्ट १७ मा इस्ट लन्डनको विलवुचमा हुने कार्यक्रमको लागि संसारभरि रहेका नेपाली बालबालिका र युवालाई आफ्नो प्रतिभा पठाउन आह्वानसमेत गरेको छ ।
यद्यपि गैरआवासिय नेपालीलाई लक्षित गरिएको कार्यक्रम भएकाले नेपालभित्र बस्ने बालबालिका भने यसमा सहभागी हुन पाउने छैनन् कार्यक्रममा बालबालिका तथा युवागरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ । बाल नक्षत्र तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ सय, ४ सय र ३ सय पाउण्ड नगद पुरस्कार र ट्रफी पाउनेछन् । यसैगरि युथ नक्षत्र समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ सय पाउण्ड, ६ सय पाउण्ड र ५ सय पाउण्ड सहित प्रमाणपत्र र ट्रफी पाउने छन् । प्रतिभा नक्षत्रको लागि नृत्य, गायन, चित्र, अभिनय, व्यंग्यजस्ता कलाको भिडियो खिचेर पठाएपछि निर्णायकले उत्कृष्ट प्रतिभालाई फाइनलमा बोलाउने गर्छन् । जुलाई ७ सम्म पठाइएका सामग्रीलाई अनलाइन तथा भौतिक अडिसन दुवैको माध्यमले छानेर आयोजकले दश–दशजना प्रतिभालाई फाइनलमा बोलाउने छन् ।
प्रतिभा नक्षत्रका सदस्य राजेन्द्र खसका अनुसार बेलायतमा रहेका नेपाली बालबालिकाको लागि मात्र नभएर विश्वभरि रहेका नेपाली भाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकाको प्रतिभाले नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्धनको दिशामा अझ बलियो कदम चाल्नेछ।
उक्त कार्य्रक्रममा गायन, नृत्य, कला, बजाउने वाद्ययन्त्र, अभिनय, साहित्य, वा अन्य कुनै सांस्कृतिक प्रदर्शन जस्ता प्रतिभाहरु प्रदर्शन गरिने छ ।
कार्य्रक्रमको दिन नेपाली खाना तथा भेषभूषाको स्टलहरू रहने छ भने ख्यतिप्राप्त कलाकारको प्रस्तुतिसँगै बृहत् सांस्कृतिक झाँकी खानेकुरा तथा अन्य सामग्रीको स्टल राखिने छ ।


















