काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि हजारौं श्रद्धालु दर्शनका लागि लामबद्ध देखिएका छन्।
धार्मिक विश्वास अनुसार, साउन महिनाको सोमबार शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने, सुख, समृद्धि र पारिवारिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ। यही कारणले आज बिहान ३ बजेदेखि नै पशुपति क्षेत्र विकास कोषद्वारा सुरक्षा, लाइन व्यवस्थापन, बत्ती तथा आकस्मिक स्वास्थ्य सेवाका व्यवस्था मिलाइएको छ।
सुन्दरीजलबाट “बोल बम” यात्रा गरी ल्याइएको पवित्र जल पशुपतिनाथमा चढाउने भक्तजनहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ। साउन महिनामा लाखौं भक्तजनले यो यात्रा गर्ने परम्परा रहेको छ।
धार्मिक शास्त्रअनुसार सूर्यको कर्कट राशिमा प्रवेशसँगै दक्षिणायन सुरू हुने यो महिना भगवान् शिवको प्रिय समय हो। सोमबार शिवजीको बार भएकाले यो दिन व्रत बस्ने, हरियो वस्त्र धारण गर्ने तथा शिवपूजामा विशेष श्रद्धा व्यक्त गर्ने परम्परा रहेको छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, साउने सोमबारको व्रतले वैवाहिक जीवनमा सुख, सन्तान प्राप्ति, र समग्र पारिवारिक कल्याण हुने विश्वास गरिन्छ। साथै, हरियो रंगलाई प्रकृतिसँगको तादात्म्यता दर्शाउने प्रतीक मानिन्छ, जसले पञ्चतत्वद्वारा बनेको मानव जीवनलाई प्रकृतिसँग जोड्ने काम गर्छ।
आज देशभरिका शिव मन्दिरहरूमा विशेष पूजा, रुद्राभिषेक, र भजन किर्तनहरू भइरहेको छ। भक्तजनको आस्थाले साउने सोमबारलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले अझ विशेष बनाएको छ।


















