रामधुनी । हरिनगर गाउँपालिकाको मंगलबार सम्पन्न १९औं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ५४ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको नयाँ सभाहलमा सम्पन्न सभामा उपाध्यक्ष रिमझिम कुमारी भगतले अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।
बजेट अनुसार कुल रकममध्ये ४१ करोड ११ लाख रुपैयाँ चालु खर्च र १७ करोड ४३ लाख २ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
उपाध्यक्ष भगतका अनुसार आगामी वर्षमा गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। यसका लागि छुट्याइएको ५ करोड रुपैयाँ खर्च गरिनेछ। यस्तै, कृषि तथा पशु सेवा, सहकारी सेवा, गरिबी निवारण लघु उद्यम कार्यक्रम, तथा रोजगार सेवा केन्द्रका लागि १ करोड ६ लाख १० हजार रुपैयाँ बजेट छुट्याइएको छ।
पुर्वाधार विकासमा ९ करोड ९२ लाख ६५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४१ लाख, र सुशासन तथा संस्थागत विकासतर्फ ९१ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
बजेट स्रोततर्फ हेर्दा, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदानमार्फत ४२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसैगरी, कोशी प्रदेश सरकारबाट २ करोड रुपैयाँ बराबरको अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ।
गएको आर्थिक वर्ष २०८१/८२ मा हरिनगर गाउँपालिकाले ५४ करोड २० लाख ७० हजार ८ सय ९७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा ४ करोड बढी रहेको छ।


















