इटहरी । नेपाल विद्युत प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण सो अबस्थामा आइपुुगेको उनले शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३÷७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।
अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उनले जानकारी दिए ।