खोटाङ । खोटाङ कांग्रेसका सङ्गठन विभाग प्रमुख विष्णुराज राईले चुनाव जितेका जनप्रतिनिधिले काम गर्ने साहस नगर्दा दिक्क लागेको अनुभव सुनाउँदै एक कार्यक्रममा भने,‘चुनाव जितेर गएपछि यहाँका माननीयहरू फर्केर आउनुहुन्न । पार्टी केन्द्रले जबरजस्त उमेद्धार चयन गर्दा खोटाङ कांग्रेस चलमलाउन सकेको छैन । जितेर गएकाहरू आफ्नो स्वार्थमा व्यस्त छन् ।’ उनको यो भनाई नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री समेत रहेका आफ्नै नेता भूपेन्द्र राई लक्षित थियो ।
सदरमुुकाम दिक्तेलमा कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा आयोजित खोटाङको विकास र राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले भूपेन्द्र राईको आलोचनामा अधिक समय खर्च गरेका थिए । विष्णुराजले नै अगाडि थपे,‘आफू विरोधी साथीहरू हराउन उहाँले जुन भूमिका खेल्नुभएको छ, पार्टीका नियम विपरीतका गतिविधिहरू जसरी गर्नुभएको छ, हामीले कारबाहीका लागि जसरी सिफारिस गरेका थियौँ तर केन्द्रले गरेन अब खोटाङ कांग्रसले उहाँको क्रियाशीलता नवीकरण गर्दैन ।’
नेविसंघका केन्द्रीय सदस्य समेत रहेका नेता नइन्द्र राईले आर्थिक चलखेल गरेरै जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कांग्रेसका उमेद्धारलाई हराउन भूपेन्द्र राई सफल भएको उल्लेख गरे । सोही अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘यसरी पालिकामा आफ्नै पार्टीका व्यक्तिलाई हराउने त्यसमाथि सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिनु नै नेतृत्वको गलत अभ्यास हो । स्टन्ट र चाकडीका भरमा टिकट पाउने र पार्टीका हित विपरीतका क्रियाकलाप गर्ने जो कोहीलाई छुट कसरी हुन सक्छ ?’
जिल्लाका उपसभापति इवन राई पाटीमा इमानदारिताको कमी भएकाले अहिलेको अवस्था आएको बताउँछन् । उनले यस्तो गलत प्रवृतिलाई करेक्सन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । जिल्ला कार्यसमितिले नै आयोजना गरेको सो कार्यक्रमका अधिकांश वक्ताहरूले महामन्त्री राई प्रति आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले जिल्लामा आएको विकास निर्माणको बजेटलाई पनि राईले कटाएको, पहिचानको विषयमा नजरअन्दाज गरेको उल्लेख गरेका छन् ।

मन्त्री बन्न दौड
यता नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा आफ्नो नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी गराउन भूूपेन्द्र राई लबिङ गरिरहेका छन् । यद्यपि काङ्ग्रेसभित्र सहमति जुट्न नसक्दा कोशी प्रदेशको मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नेकपा एमाले र नेपाली काँग्रेसविच भएको भनिएको सममती अनुसार कांग्रेसले पाएको चार मन्त्रीमध्ये २ जना शेरबहादुर देउवा पक्षबाट, एक जना डा.शेखर कोइराला पक्षबाट र एक जना कृष्णप्रसाद सिटौला पक्षबाट पठाउने तयारी रहेको स्रोतले जनाएको छ । तर, शेखर पक्षले २ मन्त्रीको भाग खोज्दा मन्त्रीपरिषद्ले पूर्णता नपाइरहेको हो ।
‘आफ्नो गृह प्रदेश कोशीमा शेखर दाइको सहमति विना सरकारमा कांग्रेस जान सक्दैन ।’ शेखर पक्षका एक सांसद भन्छन्, ‘जसरी सुदूरपश्चिममा शेरबहादुर देउवाजीको सहमति पर्छ त्यसरी नै कोशीमा शेखर दाइको सहमति आवश्यक छ ।’ मन्त्री बन्नका लागि समेत आकाङ्क्षी धेरै रहेकोले काँग्रेस सरकारमा सहभागी हुन समय लाग्न सक्ने संसदीय दलका नेता उद्धव थापा बताउँछन् ।
कृष्णप्रसाद सिटौला समूहका नेता मानिने भूपेन्द्र राई आफ्नो नेतृत्वमा सरकारमा सहभागिताका लागि जोडबल गरिरहेको श्रोत बताउँछ । उनी आफैँ पनि खोटाङका जनताले मन्त्री बन्नकै लागि निर्वाचित गराएको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । तर, उनको पार्टीको क्रियाशीलता समेत नवीकरण नगर्ने बताउँदै आएको जिल्लाको सम्पूर्ण पार्टी पङ्क्ति उनलाई पार्टीभित्र समेत स्वीकार गर्न तयार देखिँदैन ।


















