तब मनाउँला नारी दिवस जब छोरी भनी गर्भ मै तुहाएर मर्न नपरोस,
जब बलत्कार गरि झाडिमा फालिन नपरोस तब मनाउँला नारी दिवस !
अनि मनाउँला नारी दिवस जब दाइजो हिंसा शोषणमा परि जिउँदै जल्न नपरोस,
बोक्सीको आरोपमा तड्पी तड्पी मर्न नपरोस्, तब मनाउँला नारी दिवस ! किनकि म नारी हुँ !
अनि मनाउँला नारी दिवस जब छाउपडी भइ गोठमा सड्न नपरोस्,
शालिन जसरी सानै उमेरमा ढल्न नपरोस्, तब मनाउँला नारी दिवस ! किनकि म नारी हुँ !
अनि मनाउँला नारी दिवश जब न्यायका लागि दुनियाँसामु लड्न नपरोस,
जब महिनावारीमा मैले छोएको अछुतो नहोस्, तब मनाउँला नारी दिवस ! किनकि म नारी हुँ !
तब मनाउँला नारी दिवस जब हरेक महिलालाई आत्मनिर्भर बन्न आह्वान गरियोस,
भाषणमा मात्र बराबर होइन व्यवहारमा लागु गरियोस, किनकि म नारी हुँ !

















