इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको दाबी गर्नुभएको छ ।
एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आएपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्दा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा सम्झौताको अंग हुने कि नहुने भनेर एलफोर्डसँग सोध्ने बताउनु भएको थियो ।
बुधबार बिराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै एमसीसीको विरोध भइरहेका बेला प्रधामन्त्री दाहालले जनतालाई ढाट्न खोजेको आरोप लगाउनुभयो ।
तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने ओलीको दाबी छ । तर एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा जाने अध्यक्ष ओलीले जानकारी दिएका छन् ।


















