इटहरी । इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक केशव गौतमले अपराधको सन्दर्भमा कोहीसँग कुनै सम्झौता नगर्ने बताएका छन् । मङ्गलवार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले रामधुनीका केही वडा र इटहरीका केही वडाको वस्तुस्थिति हेरेर सम्बन्धित प्रहरी इकाई लाई शान्ति सुरक्षाका सन्दर्भमा आवश्यक निर्देशन गरिएको बताए ।
प्रहरी प्रधान कार्यालयबाट सरुवा भई इलाका पकलीको जिम्मेवारी समाल्न भरखरै मात्र आएका प्रहरी निरीक्षक गौतमले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुने । उनले सञ्चारकर्मीसँग अपराध सम्बन्धी सूचना तथा जानकारी प्रहरीलाई दिन आग्रह गरे । समाजलाई सभ्य बनाउन सञ्चारकर्मी र प्रहरीको भूमिका महत्त्वपूर्ण भएकाले उनले त्यसलाई सुमधुर कायम राखिने बताए ।
अपराध गर्नेहरू जो सुकै कानुनी दायरामा आउने उल्लेख गर्दै उनले कोही कसैले प्रलोभन नदेखाउन र प्रहरी त्यसमा संलग्न नरहने समेत उल्लेख गरेका छन् । छलफलका क्रममा सञ्चारकर्मीले रामधुनीमा नक्कली नोटको बिगबिगी बढेको, अवैध रूपमा खोला उत्खनन भइरहेको, चोरी, डकैती, लागु औषधको समेत विकराल अवस्था रहेको साथै सो इलाका क्षेत्रमा सवारी दुर्घटनाको दर समेत बढेको तर्फ इङ्गित गर्दै त्यसतर्फ विशेष चासो राख्न आग्रह गरेका छन् ।

















