इटहरी । अवैध रूपमा नेटवर्किङ धन्दा चलाउने तीनवटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ । इटहरीलाई केन्द्रबिन्दु बनाएर अवैध रूपमा सञ्चालनमा ल्याएको कम्पनीहरूमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो ।
मेयर हेमकर्ण पौडेलले अवैध रूपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए ।
नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रूपमा अनुगमन गरिरहेको छ । इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।
जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउँदै रकम लिने गरिएको छ । अझ सदस्य बनाएबापत औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ ।

















