इटहरी । कास्कीको पोखरा घर भएका ३ जनालाई नक्कली बाबु बनेर मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गर्ने दुई जनालाई प्रहरिले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार किर्ते गर्दै झुटा विवरण पेस गरेर नागरिकताको सिफारिस गर्ने ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका–७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–११ का ६० वर्षीय सूर्यबहादुर फ्याङ्ग लिम्बूलाई पुरपक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर पोखरा उपमहानगरपालिका–१० का २१ वर्षीय रविन गुरुङ, पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा–१६ का २९ वर्षीय गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सूर्यबहादुरले उनीहरुलाई सहयोग गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार रविनले सुरज लिम्बू, प्रशान्तले साजन लिम्बू र गणेशले सविन लिम्बूको नामबाट नागरिकता लिएका हुन् । उनका अनुसार तीनै जनाले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०७८ माघ २४ गते नागरिकता लिएका हुन् ।
प्रहरी स्रोतका अनुसार सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व (अवकाश प्राप्त) बेलायती सैनिक हुन् । बाबु बनेर नागरिकता बनाइदिएवापत आफूले ५ लाख रूपैयाँ लिएको सूर्यहाङले आफ्नो बयानमा खुलाएका छन् ।
नागरिकता लिएर तीनै जना बेलायतको सैनिकमा भर्ती भइसकेपछि ३५ लाख रूपैयाँ पाउने भनेकाले आफू नक्कली बाबु बन्न तयार भएको उनले अदालतमा बयानका क्रममा उनले भनेका छन् ।
न्यायाधीश प्रकाश कोइरालाको इजलासले पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान गरिएको छ ।

















