इटहरी । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ६ लेन सडक क्षेत्रमा पर्ने घर टहरा भत्काएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो ।
रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार बिहान दोस्रो पटक डोजर चलाएको हो । यसअघि उपमहानगरले गत माघ महिनामा विराटनगर लाइनमा पर्ने वडा नम्बर ६ का ३४ वटा घर भत्काएको थियो । घरधनीले भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले डोजर चलाएको हो ।
वडा नम्बर ९ का एक दर्जनबढी घर भत्काएपनि केही घरधनीले अटेर गर्दै आएका थिए । पटक–पटक आग्रह गर्दा पनि ९ नम्बर वार्डका केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गरेर भत्काउन सुरु गरिएको मेयर पौडेलले बताए । पौडेलले सडक क्षेत्रभित्रका संरचना निरन्तर भत्काउँदै जाने बताए ।

















