इटहरी । इटहरीमा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । इटहरी १२ स्थित प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ०८३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गर्दा साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर घाइते भएका साइकलयात्री इटहरी ११ का ६० वर्षीय भरत दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलले ठक्कर दिँदा दाहाल गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा उनको मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालक सुनसरीको रामधुनी ७ का २२ वर्षीय विशान सुन्दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
सुन्दास नेपाल प्रहरीका जवान हुन् । उनी सुनसरीको दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत रहेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

















