इटहरी । धनकुटा नगरपालिका ४ देब्रेबासमा बेहुला र बेहुलीसहित आफन्तजनलाई प्रहरीले पक्राउ गरेको छ ।
बालविवाह गरेको अभियोगमा धनकुटा नगरपालिका ४ देब्रेबासस्थित विवाह मण्डपबाटै सोमबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा १९ वर्षीय बेहुला नरेश मङ्राती, १५ वर्षीया बेहुली सफला खड्का र बेहुलाका बाबु कृष्ण मङ्राती छन् ।
बेहुलीका बाबु आशिकका अनुसार उनीहरूबीच गत वैशाख १ गते भागेर अन्तर्जातीय विवाह भएको थियो ।
धनकुटा नगरपालिका ६ कचिडे घर भएका बेहुली पक्षले कम उमेर भएका कारण विवाह नगर्न दबाब दिएपनि केटाकेटीले भागेर विवाह गरेको बताएका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुवँरले केटाकेटीको उमेर २० वर्षभन्दा कम भएकाले कानुन अनुसार प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
मंगलबारदेखि अदालती प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















