इटहरी । सुनसरी र इलामका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १७ का ३४ वर्षीय मनिष पाण्डे, धरान ११ का ३५ वर्षीय सूर्यकुमार राई, झापा गौरिगञ्जकी ३२ वर्षीया बबिता राजवंशी र दमक नगरपालिका २ का ४१ वर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।
पाण्डे र राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ८ बाट ११ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रबारेको भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिणामको लागूऔषध बरामद भएसँगै दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका २ बाट राजवंशी र विश्वकर्मालाई ०.४६ मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको छ ।
मे १ ह ३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरूको साथबाट उक्त परिणामको लागूऔषध बरामद भएको र दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


















