इटहरी । झापा र इलामको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
झापाको कन्काई नगरपालिका १ पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिदाँ घाईते भएका भारत सुन्दरपुरका ६५ वर्षीय दीपराज चरजको मृत्यु भएको हो ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बाह्रदर्शी ६ का ५४ वर्षीय संजित तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, इलाम नगरपालिका ७ मेची राजमार्गस्थित सडक छेउमा रोकी राखेको प्रदेश १–१०–३–००१ त ००१२ नम्बरको ट्याक्टरमा मे ११ प ८२१५ नम्बरको मोटरसाइकल ठोक्किदाँ घाइते भएका मोटरसाइकल चालक इलाम ३ का २५ वर्षीय संजय राईको मृत्यु भएको हो ।
उनलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लैजाने क्रममा माटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार रहेका सन्दकपुर नगरपालिका १ का १७ वर्षीय संयोग लिम्बूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















