इटहरी । इटहरीको जनता माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप थामि नक्ने हुने गर्छ । जनतामा कक्षा ६ मा भर्ना भएर अहिले कक्षा १० मा अध्ययनरत विकिशा बुढाथोकी शिक्षक सिर्जनात्मक र मिहिनेती भएकाले गर्दा प्रसन्न छीन् । ‘मेरो पृष्ठभूमि अङ्ग्रेजी राम्रो होइन, अहिले मलाई अंग्रेजी बुझ्नका लागि समस्या छैन् ।’
कतिपय सामुदायिक विद्यालयले विद्यार्थी पाउनै मुस्किल छ । विकिशा भन्छिन् ‘हाम्रो स्कुलमा शैक्षिक गुणस्तरका लागि व्यवस्थापन समिति, सरहरुबाट जति इफोर्ट खर्च भइरहेको छ, हामीमा पुरै परिवर्तन आएको छ ।’ यतिबेला अङ्ग्रेजी माध्यमबाट पढाइ विद्यार्थी, अभिभावकको रुचि र माग मात्रै नभएर आवश्यकता पनि बनेको छ । ‘हामी जस्तोसुकै राम्रो निजी विद्यालयमा पढेकाहरुसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं,’ उनले भनिन् ।
२०१३ सालतिर इटहरीमा जनता प्रावि स्थापना भएको थियो । त्यसबेला सरकारी भनिने सामुदायिक विद्यालयले नै इटहरीको शैक्षिक नेतृत्व गर्नुपर्ने अवस्थामा जनतासहित क्रमशः खुल्दै गएका विद्यालयका कारण इटहरीको शैक्षिक स्तर बिस्तारै उकालो लाग्दै गयो ।
त्यस बेला पढेका मान्छेहरू सीमित थिए । २०४२ सालपछि भने इटहरीले क्रमिक रूपमा शिक्षा क्षेत्रमा खुट्टा टेक्न थाल्यो ।
त्यसअघि नै झोडामा सरस्वती मावि हुँदै पकली हाँसपासोलगायत स्थानमा विद्यालय खुल्दै गए । विद्यालयको संख्या बढे पनि विद्यार्थीको चाप भने जनता स्कुलमै थियो ।
मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित थुप्रै व्यक्तित्व इटहरी जनताकै उत्पादन हुन पुगेका छन् ।
पूरानो इतिहास बोकेको जनता माध्यमिक विद्यालयको शैक्षिक साख बीचमा एकपटक ओरालो लागेको थियो । पछिल्लो समय यसले गुणस्तरीय शिक्षासँग आफ्नो गुमेको साख फर्काएर इटहरीमा उत्कृष्ट विद्यालय हुन पुगेको छ।
जनता माविमै अध्ययन गर्ने आसिस लकान्द्रीले पढाईसँगै अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीलाई लोभ्याउने गरेको छ। ‘आफ्ना योग्यता र दक्षता देखाउनका लागि हाम्रो विद्यालयले अवसर दिन्छ,’ उनले भने ।
हिजोआज शहरी क्षेत्रका अभिभावक आफ्ना छोराछोरी अंग्रेजी माध्यममै पढाउन चाहन्छन् । इटहरी वडा नंं. २० जनसहयोग माविमा कक्षा ३ देखि ४ मा जाँदा दोस्रो स्थान प्राप्त गरेका सागर विक अंग्रेजी बोल्न जान्नेलाई समाजले हेर्ने, बुझ्ने दृष्टिकोण नै फरक भएकाले पनि यसप्रति आकर्षित हुन परेको बताउँछन् । ‘बुबाआमा र हाम्रो रुचि एवम् लगावलाई विद्यालयले सम्बोधन गरेकाले गर्दा सहज भएको छ,’ उनले भने ।
प्रायः अभिभावकको मस्तिष्कमा अङ्ग्रेजी भाषाप्रति रुचि बढ्दै जानु र संस्थागत विद्यालयमा जस्तै सामुदायिकमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भएकाले अभिभावक सामुदायिक विद्यालयप्रति आकर्षित बन्दै गएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत नेहाल तामाङलाई विद्यालय आउँजाउ गर्न टाढा छ । तर छोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहेकाले गर्दा अरु विद्यालयमा नसारेको आमा कल्पना बताउँछीन ।
यतिबेला सकेसम्म सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर नै चलेको छ । ‘इटहरी क्षेत्रका विद्यालयमध्ये पछिल्लो आठ वर्षयता आफ्नै आँखाले देखेको राष्ट्रिय माध्यमिक विद्यालयमा आकाश–पाताल अन्तरको फरक भएर परिवर्तन भएकैले छोरीलाई टाढा भएपनि अन्यत्र नसारिएको हो,’ कल्पनाले भनिन् ।
सामूदायिकमा विद्यार्थीको चाप बढेकै कारण विद्यालयले भने विद्यार्थी छानेर मात्र भर्ना लिने गरेका छन् । जनसहयोग माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बस्नेतका अनुसार जेहेन्दार विद्यार्थी छनौट गरेरै भर्ना लिने गरिएको छ। उनले भने, ‘विद्यार्थी छनौट नगर्ने हो भने विद्यालयले थेग्नलाई समस्या पर्दछ,’ उनले भने ।
व्यवस्थापकीय र प्रशासनिक सुधारसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि अहिले इटहरी क्षेत्रका सामूदायिक विद्यालय नमूना विद्यालयको रुपमा स्थापित हुन थालेका छन् ।
इटहरी क्षेत्रका जनता माध्यमिक विद्यालय, राष्ट्रिय मावि आँपगाछी, जनता, जनसहयोग, कचना, शारदालगायत इटहरीका विद्यालयमा वर्षेनी विद्यार्थीको चाप बढ्दो छ। राष्ट्रिय मावि इटहरीका प्रधानाध्यापक सरणकुमार बस्नेत भन्छन्, ‘विद्यार्थी भर्नाका लागि वर्षेनी रोक्नु परिरहेको छ । विद्यालयको क्षमता भन्दा बढी राख्न सक्ने अवस्था छैन् ।’
जनता माविमा वर्षेनी पाँच सय हाराहारी बढी विद्यार्थी भर्ना आउने गरेका छन् । तर, सवै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था छैन् । राष्ट्रिय माविमा हरेक वर्ष तीन सयभन्दा बढी विद्यार्थी भर्नाका लागि आउने गरेका छन् ।
शैक्षिक सुधारमा उपमहानगरपालिका
हुन त इटहरीमै कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थी नभएर अस्तित्व जोगाउन नै हम्मे हम्मे परिरहेका बेला उपमहानगरपालिकाले शैक्षिक सुधारलाई जोड दिएको छ ।
विद्यालय सुधारका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक अन्तरक्र्रिया तथा परामर्श लगायतका विषय योजनाबद्ध ढङ्गले अगाडि बढाएको छ । जसमा आर्थिक वर्ष २०७५÷७६ देखि चालु आर्थिक वर्षसम्मको अवधिमा १५ वटा पुस्तकालयको निर्माण गरिएको छ । यसै गरी विज्ञान प्रयोगशाला र आइसिटी ल्याब क्रमशः ११ र २० वटा निर्माण गरिएको छ ।
नगर भित्रका विद्यालयमा कर्मागत चार कोठे भवन १० वटा, दुई कोठे भवन १६ वटा, शौचालय ४ वटा, रेक्ट्रोफिटिङ् ४ वटा, भौतिक सुधार ९ वटा, घेरा बारा एक वटा, पिउने पानी १२ वटा, इ–एजुकेसन ७ वटा, स्मार्ट कक्षा व्यवस्थापन ५ वटा, शिक्षामा नवीनतम प्रविधि ४ वटा, पुस्तकालय विज्ञान प्रयोगशाला एक वटा, विद्यालय कर्मचारी व्यवस्थापन ३ वटा, शिक्षण सहयोग अनुदान १६ वटा, पुस्तकालय सहायक व्यवस्थापन ३ वटा, रंगरोगन एक वटा, प्रदेश स्वयमसेवक दुई र सामुदायिक क्याम्पस अनुदान दुई वटा विद्यालयमा भएको उपमहानगरपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
इटहरीभित्रका ३६ वटा सामुदायिक विद्यालयमै उपमहानगरपालिकाले योजनाबद्ध ढङ्गले काम गरेको र कतिपय विद्यालयमा राम्रो प्रभाव परेको नगरका शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी सूर्यप्रसाद सुवेदीले बताए । जसका कारण पनि समग्र रूपमा इटहरीका संस्थागत विद्यालयमा विद्यार्थीको भर्ना प्रतिशत समेत कम भएको छ ।
उपमहानगरसँगको अभिलेखमा गएको शैक्षिक सत्र भन्दा १३ प्रतिशत बढी सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढेको छ । यो शैक्षिक सत्रमा इटहरीमा सामुदायिक विद्यालयमा ३३ प्रतिशत विद्यार्थी भर्ना हुँदा ६७ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका छन् । जुन अघिल्लो शैक्षिक सत्रमा ७५ प्रतिशत संस्थागतमा हुँदा २५ प्रतिशत विद्यार्थी सामुदायिकमा रहेका थिए । भर्नाको क्रम चलिरहेकाले यसमा केही बढ्न सक्ने नगरका शिक्षा अधिकारीहरूले उल्लेख गरे ।
सुवेदीका अनुसार समग्र रूपमा इटहरीका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । अब भर्ना भएका विद्यार्थीलाई टिकाउनका साथै शैक्षिक उपलब्धि हासिल गर्नका लागि नगरपालिका योजनाबद्ध भएर लाग्ने उनले बताए । ‘अब नेतृत्वले विद्यार्थी भर्ना र शैक्षिक गुणस्तरका बारेमा पनि हेर्नुपर्ने हुन्छ । उनले भने, विद्यार्थी बढी र कम शिक्षक हुँदा अर्को चुनौती आउने हुन्छ । त्यसलाई हामीले दीर्घकालीन, आवधिक विषयगत रूपमा पनि योजनाबद्ध ढङ्गले नै काम गरेर जानुपर्ने आवश्यकता छ ।’
स्थानीय सरकारको गठन भएर विद्यालयलाई स्थानीय सरकारको मातहतले काम गर्दै गर्दा इटहरीका सरकारी विद्यालयले गति लिन थालेको इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले बताए । सामुदायिक विद्यालयमा शिक्षाको अवस्था थप सुधार गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यले प्रदान गर्ने शिक्षा सर्वव्यापी बनाउनेमा उनले जोड दिए । मेयर पौडेलले भने, ‘हामी एउटा प्रतिबद्धताका साथ निर्वाचित भएका छौँ । शिक्षा–स्वास्थ्य जस्ता महत्वपूर्ण विषयहरूलाई हामीले गम्भीर रूपमा लिएर योजनाका साथ काम गर्दछौँ ।’

















