इटहरी । इटहरी २ का डिकबहादुर कार्की धरानस्थित कृपा बचत तथा ऋण सहकारी संस्थामा कार्यरत थिए । सहकारीमा कलेक्टरसँगै कार्यालयकै काममा उनी व्यस्त हुन्थे ।
दैनिक गुजारा चलाउन सहकारीमा काम गर्दा सहजै हुने विश्वासले चिनजानकै साथीभाइसँगको आग्रहमा उनले काम सुरु गरे । करिब एक वर्ष काम नगर्दै उनी अहिले उक्त सहकारीमा काम गर्दाको पीडा भोगिरहेका छन् ।
धरान ५, महेन्द्रपथमा कार्यालय रहेको उक्त सहकारीमा कार्कीले पेम्बा शेर्पा र अनिल गौतममार्फत जागिर सुरु गरे । सहकारीमा तारा राई अध्यक्ष भनिएपनि कागजी रूपमा भने पेम्बा शेर्पा अध्यक्ष रहेको बताइन्छ ।
सहकारी गत साउनयता बन्द छ । सेवाग्राहीको भुक्तानी फिर्ता दिन नसकेर अहिले सहकारी बन्द अवस्थामा पुगेको छ । कर्मचारीहरूको भागाभाग भएका कारण कार्की समस्यामा परेका छन् ।
त्यसो त कार्कीले उनै शेर्पासँगको विश्वासले सेवाग्राहीलाई आफ्नो व्यक्तिगत चेक दिएका थिए । उनी अहिले सोही चेकका कारण उनी पिरोलिरहेका छन् ।
आँफूले चेक दिएका सेवाग्राहीबाट दैनिक फोन आउने र मानसिक रूपमा समस्या खेपिरहेको कार्की बताउँछन् । कार्की भन्छन् “तत्कालका लागि सेवाग्राहीलाई तपाईँको चेक दिनु सहकारीले केही दिनमै मिलाउँछ भनेर विश्वास दिलाएपछि मैले व्यक्तिगत चेक काटेँ,” ‘विभिन्न मितिमा जम्मा चारथान (४ लाख ८३ हजार) रुपियाँको चेक काटिएको छ, अहिले चेक साटिएको छैन ।’
आँफू सामान्य मान्छे रहेको, आयस्रोत समेत नभएका कारण अहिले आफ्नो व्यक्तिगत चेकमा पैसा नभएको र सहकारीका जिम्मेवार मान्छे नै फरार रहेको उनको भनाइ छ । ‘
त्यसबेला सहकारीका पेम्बा शेर्पाले तपाईँको व्यक्तिगत नामको चेक काटिदिनु, केही समयमै तिर्छु भनेको विश्वासका आधारमा कागज नै गराएर चेक दिएँ,’ उनले भने, ‘अहिले मलाई पश्चाताप भएको छ, सहकारीमा जागिर खानु नै भूल भयो । आफ्नै चिनजानका साथीहरूबाट ठगिएँ ।’
सहकारीले अहिले ७५ जनाभन्दा बढी सेवाग्राहीको ३० लाख रुपियाँभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । खासगरी सहकारीले धरानको चतरा लाइन, मंगलबारे, बगरकोट, भानुचौक लगायतका क्षेत्रबाट बचत संकलन गथ्र्यो ।
तर, उक्त बचतबापतको रकम सेवाग्राहीलाई फिर्ता दिन नसक्दा कर्मचारीहरूकै भागाभाग भएको छ । यसअघि उनै शेर्पा र अनिल गौतममार्फत जागिरमा गएका कार्कीलाई अहिले सेवाग्राहीले फोन गरी पैसा मागेर हैरान बनाएका छन् ।
यी मध्येका अनिल भने इटहरीको कामक्ष सहकारीका अध्यक्ष थिए । उनी अहिले झुम्का कारागारमा पुर्पक्षमा छन् । सेवाग्राहीको भुक्तानी दिन नसकेर गौतम अघिल्लो भदौमै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
‘सहकारीमा जागिर खाँदा उल्टै ठगिएँ, ग्राहकले अहिले दैनिकजसो मलाई ताकेता गर्छन्,’ कार्कीको दुःखेसो छ, ‘सहकारीले त्यसैबेला भुक्तानी फिर्ता गर्नुपथ्र्यो ।
बचत संकलन भएपनि अहिले कोही कर्मचारी सम्पर्कमा नहुँदा र मेरो घर नजिकै भएका कारण पनि मलाई ताकेता गरिरहेका छन् ।
’ आँफूले काम गर्ने सहकारीबाटै ठगीमा परेको उनको भनाइ छ । यता, यस विषयमा बुझ्न पेम्बा शेर्पालाई पटकपटक फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानले भने यस विषयमा सेवाग्राहीको उजुरी नआएको र उजुरी आएको अवस्थामा भने आवश्यक अनुसन्धान सुरु गरिने जनाएको छ ।

















