इटहरी । मोरङको सुन्दरहरैँचामा मकैबारीभित्र बिहीबार दिउँसो एक जना वृद्वको शव फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका ६ का ७७ वर्षीय पदमबहादुर खड्काको शव घरनजिकको मकैबारीभित्र भेटिएको हो ।
परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारी अनुसार खड्का घाँस काट्न भनेर बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।
दिउँसो ३ बजेतिर मकैबारीभित्र उनी मृत फेला परेका हुन् । समयमै घर नफर्किएपछि स्थानीय र परिवारका सदस्यले खोजी गर्ने क्रममा मकैबारीमै ढलिरहेको अवस्थामा मृत फेला पारेर प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। शवलाई पोस्मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

















