इटहरी । एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ। एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।
बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको हो।
एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका ८ घर भएका निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरी ठगी गरेको पाइएको छ।
आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएपश्चात खोजी गर्दै जाँदा प्रधानले रकम ठगी गरेको पाइएको पीडित स्याङजाकी रेखा गुरुङले बताइन्।
सुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको खुलेको हो।
अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको बताइएको छ।
विराटनगरकी विणा कोइरालाले इन्चार्ज प्रधानले सेयरको फर्म भर्दिन्छु भन्दै आफ्नो नाममा विना जानकारी एभरेष्ट बैंकमा खाता खोली रकम ट्रान्सफर गरेको बताइन्।
उनले छिमेकीको नाताले विश्वासमा परेर फोटो र नागरिकताको फोटोकपी दिएको भए पनि उनले ठगी गर्ने उद्देश्यले उक्त काम गरेकाले आफ्नो संलग्नता नभएको बताइन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको बताए।
उनले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

















