मोरङ । नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, डा.सुनील शर्माको अथक प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज चलाउन कोसी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेसँगै विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।
मोरङ क्षेत्र नं. ६ र ३ का संघीय सांसदद्वय डा. कोइराला र डा. शर्मासँगै नेकपा माववादी केन्द्रबाट मोरङ ६(क) मा निर्वाचित प्रदेश सरकारका पर्यटन बन तथा बातावरण मन्त्री जीवन आचार्यको अनवरत प्रयासपछि संघीय मन्त्रिपरिषद्को बैठकले विराटनगरस्थित कोसी अस्पताललाई प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेको थियो ।
कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको ठीक एक वर्षपछि मन्त्रिपरिषद्ले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज खोल्ने योजनाले १९ वर्षपछि मूर्तरुप पाएकोमा मोरङवासी खुशी भएका छन् । आफ्नै गाउँघरमा मेडिकल कलेज स्थापना हुने निश्चित भएसँगै उनीहरुले सो क्षेत्रका राजनीतिककर्मीहरुको सक्रियताप्रति प्रशंसा पनि गरे ।
विश्वविद्यालयले २०६२ सालयता पटकपटक मेडिकल कलेज सञ्चालनको प्रयास गरे तापनि जनान्दोलन, डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलन र राजनीतिक अस्थिरतासँगै खिचातानीले असर गरेको थियो । ८ सय ५ बिघा क्षेत्रमा फैलिएको विश्वविद्यालयसँग भौतिक संरचना बनाउन पर्याप्त जग्गा छ ।


















