काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका हुन्। उनले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गरे। सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ ।
उनले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गरे । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउँदै प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको र त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे ।
मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनु पर्ने बताए । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एशियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिए ।
जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडी बढ्नु आवश्यक रहेको उनले बताए ।

















