रामधुनी । नेपालमा अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरु आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् । जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरुको रणनीति छ ।
तर, मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माको दैनिकी भने फरक छ । चुनावी प्रचारप्रसारलाई थाती राखेर शर्मा आर्थिक अवस्था कमजोर भएका बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लागिपरेका छन् ।
डा. शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन् । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा. शर्माले उनको निःशुल्क उपचारको प्रबन्ध मिलाएका हुन् ।
डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उनलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएका छन् । नोबेल डा. शर्माकै स्वामित्वमा रहेको अस्पताल हो । डा. शर्माले बानियाँको निःशुल्क शल्यकृयाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा. शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।

















