रामधुनी। नेपाल लोकतान्त्रिक थारु संघका अगुवाहरुले मंसिर ४ गतेको निर्वाचनमा एमाले र जसपा उम्मेदवारहरुलाई भोट हाल्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले एमाले र जसपाका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन् ।
सुनसरीको झुम्कामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरु प्रायः सबैले एमालेका पुर्व जिल्ला सभापती तथा इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरीको आलोचना गरेका थिए । उनीहरुले चौधरीले टिकट नपाएको बहानामा माओवादीमा गएर एमालेलाई घात गरेको आरोप लगाए । चौधरी सुनसरी क्षेत्र नं २ (१) मा माओवादीबाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् भने उनीसँग एमालेका जिल्ला अध्यक्ष तथा पुर्व संविधान सभा सभासद् रेवतीरमण भण्डारी भिड्दैछन् ।
‘द्वारिकलालले माओवादीमा गएपछि पनि म थारुको अत्याधिक मतले विजयी हुन्छु भनेर भन्नुभएको छ,’ एमालेका राज कुमार चौधरीले भने, ‘तर थारु वहाँको गुलाम होइन, वहाँलाई परास्त गर्नैपर्छ ।’ उनले एमालेले द्वारिकलाल चौधरीलाई दुई पटक वडाध्यक्ष, एक पटक मेयर र पार्टीको जिल्ला अध्यक्ष बनाइसकेको बताउँदै चौधरीले बरु एमालेलाई धोका दिएको बताए ।
यस्तै सुनसरी क्षेत्र नं। ४ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जसपाका परशुराम बस्नेतले थारु समुदायले एमाले र जसपाका उम्मेदवारलाई सहयोग गरेमा स्थिर सरकार निर्माण हुने र देशमा विकास हुने बताए । उनले जसपाले एमाले उम्मेदवारलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको बताउँदै एमालेले पनि जसपालाई जिताउन सहयोग गर्ने विश्वास गरे ।
कार्यक्रममा बोल्दै एमाले नेता दुःखीलाल चौधरीले थारुलाई सबैभन्दा बढी प्राथमिकता दिने दल नेकपा एमाले भएको बताउँदै उनले एमाले सरकार बनाउन सहयोग गर्न आग्रह गरे । उनले सिंगो सुनसरीको थारुहरुले द्वारिकलाललाई कमाण्डर सम्झेपनि चौधरीले थारुहरुलाई लात हानेको टिप्पणी गरे । ‘सुनसरीका ३३ प्रतिशत थारुलाई लात मारेर जंगल पसे,’ उनले भने ।
यस्तै उनले शिक्षित थारु समुदाय होसियार भएपनि अशिक्षितहरुलाई एक हजार रुपैया दिएर भोट किन्ने काम भइरहेको बताउँदै भने, ‘पैसामा भोट बेच्नु हुँदैन, त्यो उम्मेदवारले पाँच वर्षको लागि तपाईलाई किनेको हो ।’
यस्तै एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले आफू जिल्ला अध्यक्ष भएको हैसियतले पार्टीका पुर्व जिल्ला सभापती चौधरीलाई टिकटबारे सोध्न घर जाँदा चौधरीले आफू अब चुनाव नलड्ने बताएको प्रसंग सुनाए ।
‘मलाई केही चाहिँदैन भन्नुभएको थियो,’ उनले भने, ‘पछि त एमालेले उम्मेदवारी दिएन भनेर माओवादीमा जानुभयो ।’
एनले एमाले थारु कार्यकर्ताहरु विचारमा अडिग हुने, इमान्दार हुने हुँदा एमालेका उम्मेदवारलाई भोट दिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘देश बनाउने र हाँक्ने पार्टी एमालेलाई थारु समुदायको भोट हुनेमा म विश्वस्त छु ।’
कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटि सदस्य तथा सुनसरी क्षेत्र नं.२ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार भीम आचार्यले थारु समुदायले सधैं झै एमाले उम्मेदवारलाई सहयोग गर्नेमा विश्वास व्यक्त गरे । उनले थारु समुदायको संस्कृतिको संरक्षण संबद्र्धन र समग्र समुदायको विकासको लागि एमालेले प्राथमिकता दिँदै आएको बताए ।
कार्यक्रममा रामप्रसाद चौलागाई, याम सुब्बा, राम कोइराला लगायत सुनसरीका एमाले तथा जसपाका नेताहरुको उपस्थिति रहेको थियो ।

















