रामधुनी । इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बुधबार संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संस्थाकी अध्यक्ष अमृता सुब्बाले इटहरीमा संस्थाको बार्षिक उत्सवको अवशरमा बिहिबार बिहान प्रभातफेरी आयोजना गरिने तथा शुक्रबार २४औं बार्षिक साधारणसभाको आयोजना गर्ने जानकारी दिईन् ।
सुनसरी र मोरङमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचतले रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु तय भएको रस्मारिका समेत प्रकाशन गरिएको सुब्बाले जानकारी दिइन् ।
उनले चिकित्सा शात्र र पीएचडी गर्ने सेयर सदस्य तथा सेयर सदस्यका सन्तती, जेष्ठ सेयर सदस्य, विभिन्न तहमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताइन् ।
महिला सेयर सदस्य अधिक रहेको महिला बचत २०५५ सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९ हजार १ सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७ हजार २ सय र निक्षेप ५५ करोड १० लाख ७८ हजार ३ सय ७० रुपैंया पुगेको पत्रकार सम्मेलनमा सुब्बाले जानकारी गराईन् ।
महिला बचत तथा ऋण सहकारीले महिलाहरुकाे क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका सिप मुलुक तालिमहरुको समेत आयोजना गर्दै आएको छ ।

















